२०८३, आश्विन २१ गते

images
  • समाचार
  • दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी कला...

दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि काठमाडौँमा

दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि काठमाडौँमा

सीएनएन खबर
शुक्रवार, माघ ११ २०८१०७:२५
सीएनएन खबर
शुक्रवार, माघ ११ २०८१०७:२५
  • images

    काठमाडौँ । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ । यही जनवरी २५ देखि काठमाडौँमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दशजना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन गर्नेछन् । 

    बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने जानकारी दिइयो । 

    प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैंगिक राजनीति जस्ता विषय सम्बोधन गर्ने डा  लोखन्डावाले बताइन् । प्रदर्शनीमा राखिएका सृजना सर्वसाधारणले तीन महिनासम्म अवलोकन गर्न सक्नेछन् ।

    तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा हुने कार्यक्रम डा  लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको हो ।

    ‘म नेपालसँग लामो समयदेखि परिचित छु, यहाँको समाज र महिलाको अवस्थाबारे पनि केही जानकारी छ, त्यसैले नेपालमा यसप्रकारको प्रदर्शनी आयोजना गर्न खोजिरहेकी थिए, धेरै वर्ष अगाडि आउँदा जीवित देवी कुमारीको दर्शनपछि यस विषयमा प्रदर्शनी गर्नुपर्छ भन्ने लागेको थियो’, उनले भनिन् । 

    प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलंका, पाकिस्तान र बंगलादेशका एकरएक महिला कलाकारका सृजना रहनेछन् । आयोजकका अनुसार भारतीय कलाकारहरु अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा बिष्टसँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपीका सृजना प्रदर्शनीमा रहनेछन् । सबै कलाकारहरूले कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र समाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन् । 

    ‘प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारको शक्तिलाई उजागर गर्नेछ’, उनले भनिन्, ‘कलामार्फत गहिरो गरी समाजमा व्याप्त पितृसत्तात्मक संरचनाहरूको विरोध र सोचमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

    नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ । ‘प्रदर्शनीमार्फत भारत, पाकिस्तान, श्रीलंका, र बंगलादेशका महिलाहरूको संघर्षसँगै नेपाली महिलाका समस्यालाई प्रकाशमा ल्याउन चाहन्छौँ’, उनले भनिन् ।

    प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सृजना समेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा– द प्यासन ९२०१२०’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ ।

    अश्मिना रञ्जितको ‘सीता १ द आइडियल वाइफ ‘२०२५०’ ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गर्नेछ । त्यस्तै, तायबा बेगम लिपीले आफ्ना सृजनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्दैछिन् । उमा बिष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गर्ने जनाइएको छ ।

    विधाता केसीले कलामार्फत महिलालाई आफ्ना आकांक्षा व्यक्त गर्न र समाजका अपेक्षालाई चुनौती दिनेछिन् । अनिता दुबे, नाइजा खान र अनोली पेरेराले आफ्नो कलामार्फत महिला सशक्तीकरण र स्वतन्त्रताका विषय उठन गर्नेछन् ।

    प्रदर्शनीको औपचारिक उद्घाटनका दिन कलाकार अश्मिना रञ्जितको विशेष प्रस्तुति रहनेछ भने यही जनवरी २५ दिउँसो ३ बजे कलाकारले काम र अनुभव सुनाउने कार्यक्रम रहेको आयोजकको भनाइ छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend