काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ ११ गतेसम्मको छ महिनामा ७७५ अनुगमन टोली मार्फत २,६५२ व्यवसायी फर्मको अनुगमन गरेको छ। यस अनुगमनमा २,५२२ व्यवसायी फर्ममा कुनै न कुनै त्रृटि पाइएको हो ।
अनुगमनका क्रममा ४९ व्यवसायी फर्मबाट १ करोड ४ लाख ५७ हजार रुपैयाँको म्याद नाघेका सामान नष्ट गरिएका छन् । त्यस्तै, ६८१ व्यवसायी फर्मलाई जरिवाना गरेर २ करोड २१ लाख ३३ हजार रुपैयाँको राजस्व सङ्कलन गरिएको छ। अनुगमनमा सबैभन्दा बढी दोषी खाद्यवस्तु उत्पादन गर्ने र बिक्री गर्ने व्यवसायी फर्म रहे, जसबाट ५३ लाख ११ हजार रुपैयाँको राजस्व सङ्कलन भएको हो ।
विभागका अनुसार, ३११ फर्मलाई न्यूनतम ५ हजारदेखि अधिकतम ३ लाख रुपैयाँसम्मको जरिवाना लगाइएको छ। यस अवधिमा ९८९ फर्मसँग कागजात मागिएको छ भने १,२१७ व्यवसायी फर्मलाई सुधारका लागि निर्देशन दिइएको छ।
विभागका महानिर्देशक राजन पौडेलले भने, अनुगमनपछि केही सुधार देखिए पनि पूर्ण सुधारको लागि थप काम गर्न आवश्यक रहेको दाबी गरेका छन्।

