काठमाडौँ । नेपालमा सबैभन्दा विश्वसनीय र निष्पक्ष मानिने लोक सेवा आयोगको परीक्षामा नै गम्भीर लापरवाही भएको पाइएको छ । आयोगले हालै सञ्चालन गरेको सहसचिवको परीक्षामा सहभागी नै नभएकालाई उत्तीर्ण भनेर नाम प्रकाशित गरेको भेटिएको हो ।
न्याय सेवाअन्तर्गत लिइएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा सहभागी नै नभएका दुईजनाको नाम सहसचिवमा उत्तीर्ण भएको सूचना आयोगले प्रकाशित गरेपछि अहिले न्याय र प्रशासन क्षेत्रमा हल्लीखल्ली भएको छ । स्वयं परीक्षार्थी नै छक्क पर्ने गरी नाम निस्किएपछि आयोगले आन्तरिक छानबिन गरी परीक्षाफलसम्बन्धी सूचना संशोधन गर्नुपरेको छ ।
कुरा गत मंसिर २८, २९ र पुस १ गते सञ्चालन भएको लिखित परीक्षाको हो । आयोगको केन्द्रीय कार्यालयले नै यो परीक्षा लिएको थियो ।
नेपाल न्याय सेवाअन्तर्गत तीनवटा समूह छन्, न्याय, कानुन र सरकारी वकिल। कानुन मन्त्रालयका उपसचिव मानबहादुर बस्नेतले सहसचिवका लागि भएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा उनले भाग लिए । उनले कानुन समूहका लागि मात्र परीक्षा दिएका थि ए। तर, माघ १ गते नतिजा आउँदा सरकारी वकिल र न्याय समूहमा पनि उनको नाम निस्कियो। अर्थात्, जाँचै नदिएको सरकारी वकिल र न्याय समूहको सहसचिव पदका लागि पनि मौखिक परीक्षा एवं प्रस्तुतीकरणमा आयोगले बोलायो ।
त्यस्तै अर्का परीक्षार्थी सपना अधिकारी गौतमले दुईवटा समूहका लागि परीक्षा दिएकी थिइन् । नाम भने तीनवटै समूहमा निस्कियो । न्याय र कानुन समूहमा मात्र जाँच दिएकी उनको नाम सरकारी वकिलको सहसचिवमा पनि नाम निस्किएपछि उनी छक्कै नपर्ने कुरै भएन ।
माघ १ को सूचनामा मानबहादुर बस्नेतको नाम न्याय समूहको सहसचिवमा दोस्रो नम्बरमा नाम निस्किएको छ भने सरकारी वकिल समूहमा पाँचौँ नम्बरमा छ । यी दुवै परीक्षा उनले दिएकै होइनन् ।
उनले जाँच दिएको कानुन समूहमा तेस्रो नम्बरमा नाम निस्किएको छ ।
संशोधित सूचनामा भने उनको नाम कानुन समूहको तेस्रो नम्बरमा मात्र छ । अन्य समूहबाट उनको नाम हटाइएको छ । यो सूचना आयोगले माघ ११ गते प्रकाशित गरेको छ।
त्यस्तै सपना अधिकारी गौतमको नाम पहिला कानुन समूहमा सातौँ, सरकारी वकिल समूहमा नवौँ र न्याय समूहमा तेस्रो नम्बरमा तिस्किएको थियो । जबकि उनले सरकारी वकिल समूहमा परीक्षा नै दिएकी थिइनन् ।
संशोधित सूचनामा भने कानुनमा सातौँ र न्यायमा तेस्रो नम्बरमा उनको नाम प्रकाशित छ। सरकारी वकिल समूहबाट हटाइएको छ ।

