काठमाडौं । रास्वपाका सभापति तथा प्रतिनिधि सभामा निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन्।
संसद सचिवालय पुगेका लामिछानेले सभामुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका हुन्।
आफ्नो निलम्बन गैरकानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेकोले फुकुवा गर्नुपर्ने उनको माग छ। निवेदन फुकुवाको निवेदन सचिवालयमा दर्ता भएको छ। सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद् सचिवालयले निलम्बन गरेको थियो। राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ।
लामिछाने कास्की, काठमाडौं र रुपन्देही अदालतमा गरी २ करोड २५ लाख धरौटी बुझाएर रिहा भएका छन्। तीनै जिल्लामा उनको मुद्दा चलिरहेको छ।

