काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत ठगीविरूद्ध मुद्दा दर्ता भएको छ। यस घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३२ जनाविरुद्ध अभियोग दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता गरेको छ भने अन्यलाई केवल ठगीको मुद्दामा आरोपित गरिएको छ। गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित तीन जनाविरुद्ध दुवै मुद्दा चलाइएको छ।
रवि लामिछानेलाई गोरखा मिडियामा आएको रकमको चेक काट्ने बाहेक अन्य संलग्नता नदेखिएको हुँदा उनलाई संगठित अपराधको मुद्दामा सामेल गरिएको छैन। सरकारी वकिलको कार्यालयले उनको संलग्नता ठगीको मुद्दामा मात्र रहेको पुष्टि गरेको छ। गोरखा मिडियामा साहारा चितवन सहकारीबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ।
चितवनमा रवि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता, न्यायाधिवक्ता लुइँटेलको सरुवा
चितवन जिल्ला अदालतमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ठगी आरोपमा मुद्दा दर्ता गरिएको छ। त्यहि दिन, चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको काज सरुवा भएको छ। लुइँटेललाई काठमाडौं महान्यायाधिवक्ताको कार्यालयमा तानिएको हो भने, उनको स्थानमा बुटवलका सरकारी वकिल रवि न्यौपानेलाई पठाइएको छ। लुइँटेलको डेढ वर्षको कार्यकाल पूरा नहुँदै सरुवा गरिएको थियो, जुन सामान्यतस् दुई वर्षको अवधिमा हुने प्रचलनसँग मेल खाँदैन।
रवि लामिछानेविरुद्ध चितवनमा ठगीको मुद्दा दर्ता भएको समयमा लुइँटेलको सरुवा भएको कारणले केही प्रश्न उठाएका छन्। महान्यायाधिवक्ताको कार्यालयका स्रोतका अनुसार, लुइँटेलले गरेको अभियोजनमा केही असमझदारी देखिएपछि उनलाई स्थानान्तरण गरिएको हो। लुइँटेलले चितवनमा रहेका अन्य सहकारी संस्थाको अनियमितता सम्बन्धी मुद्दामा पनि रविलाई मुछेका थिए, तर चितवनमा रविले ठगीको मात्र आरोप झेल्नु परेको छ।

