काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा विप्रेषण आप्रवाह ७ खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार, विप्रेषण आप्रवाहमा ४।१५ वृद्धि भएको हो। यसले नेपालको आर्थिक परिपाटीमा सकारात्मक संकेत दिएका छन्।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा २२.२५ को वृद्धि भएको थियो। यस अवधिमा खुद ट्रान्सफर पनि ४.२५ बढेर ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुग्न सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त ट्रान्सफर २१.१५ ले वृद्धि भएको थियो।
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ११.७५ ले वृद्धि भई दुई लाख ३० हजार ४३९ पुगेको छ। पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा २१.४५ को वृद्धि भएको छ, जसको परिणामस्वरूप वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १५.५५ ले बढेको हो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँ बचतमा रहेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ बचतमा थियो। पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ, जुन १३.५५ को वृद्धि हो।
निर्यातमा पनि उल्लेखनीय वृद्धि भएको छ। कुल वस्तु निर्यात ३१.८५ ले वृद्धि भई ९८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। सोयाविन तेल, चिया, पोलिस्टर यार्न, अलैंची लगायतका वस्तुको निर्यातमा वृद्धि भएको छ भने पाम तेल, जिंक सिट, अदुवा लगायतका वस्तुको निर्यात घटेको छ।
यसैगरी, कुल वस्तु आयात सात दशमलव एक प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। कच्चा भटमास तेल, चामल, धान, यातायात उपकरणका वस्तुहरूको आयातमा वृद्धि भएको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात घटेको छ।
यस अवधिमा कुल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भई ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
नेपालको आर्थिक संरचना सकारात्मक दिशामा अघि बढिरहेको देखिन्छ, विशेष गरी विप्रेषण, वैदेशिक रोजगारी, निर्यात र विदेशी विनिमय सञ्चितिमा उल्लेखनीय वृद्धि भएको छ।

