काठमाडौं । सरकार र नो-केबलकार पक्षबीच आइतवार भएको वार्ता निष्कर्षविहीन बनेको छ । सरकारी वार्ता टोलीका संयोजक नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराईले केही समय पछि सरकारी वार्ताटोलीका तर्फबाट विज्ञप्ती जारी हुने र त्यसपछि मात्र थप जानकारी दिन सकिने संक्षिप्त प्रतिक्रिया दिए ।
वार्ता टोलीमा सहभागी नो-केबलकार पक्षका वार्ता टोली सदस्य खगेन्द्र माखिमले आजको वार्तामा केही पनि निश्कर्ष ननिस्किएको बताए । वार्ता भंग भने नभएको उनको भनाइ छ । उनका अनुसार आजको वार्ता करिब ४५ मिनेटमात्र चलेको थियो ।
वार्ताको वातावरण अब सरकार आफैले बनाउनुपर्ने बताउँदै आन्दोलनरत पक्षका माखिमले आफुहरुले यसअघि सरकारसँग भएका सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको विषय वार्तामा राखेको जानकारी दिए।
आफुहरुले केबलकार निर्माण खारेजी हुनु पर्ने विषय उठाएको र सरकारका तर्फबाट केवलकार निर्माणका समस्या भए सुधार्ने मात्र विषय आएको माखिमको भनाई छ ।
गत माघ २२ गते भएको वार्ता आज माघ २७ गते पुनः बस्नेगरी ६ बुँदे सहमतिका साथ सकिएको थियो । उक्त दिनको सहमति अनुसार आन्दोलनरत पक्षले माघ १५ गतेदेखि जारी राखेको बन्दका कार्यक्रम स्थगन गरेको थियो भने सरकार पक्षले नो केवलकार पक्षका पक्राउ परेका कार्यकता रिहाई गरेको थियो ।

