२०८३, आश्विन २२ गते

images
  • समाचार
  • पाइलट बन्ने सपना छाडेर पुर्ख्यौली पेसामा...

पाइलट बन्ने सपना छाडेर पुर्ख्यौली पेसामा जमेका संघर्ष विष्ट

पाइलट बन्ने सपना छाडेर पुर्ख्यौली पेसामा जमेका संघर्ष विष्ट

सीएनएन खबर
बुधवार, माघ ३० २०८१०८:३७
सीएनएन खबर
बुधवार, माघ ३० २०८१०८:३७
  • images

    काठमाडौँ । सङ्घर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका पुगे । पाइलट बनेर देशको सेवा गर्ने उनको सपना थियो । तर, परिस्थितिले उनलाई पाइलट बन्ने भन्दा पनि अन्य क्षेत्रमा लागेर देशको सेवागर्ने अवस्थामा ल्यायो । 

    पाइलट बन्ने सपना थाती राखेर विष्ट नेपाल फर्किए । अभिभावक (बुबा–आमा) को चाहना अनुसार विष्टले पाइलटको सपना छाडेर नेपालमा पुर्ख्यौली पेसा (पर्यटन व्यवसाय) सम्हाल्न थाले । उनी आज नेपालमा पर्यटन व्यवसायमा जमेका छन् । सङ्घर्ष सफल पर्यटन व्यवसायीको रुपमा चिनिन्छन् पनि । 

    सङ्घर्षको पाइलट बन्ने सपना अब उनीकी जेठी छोरी अर्नग्या विष्टले पुरा गर्दैछिन् । केही दिनअघि छोरीलाई पाइलट पढ्न अमेरिका बिदा गरेका विष्टले आफ्नो विगत सम्झिएर निकै भावुक बने । 

    ‘आजभन्दा ३० वर्षअघि म अमेरिकामा पाइलट तालिम गरिरहेको थिए, बिदामा  बुबाआमाको औधी याद आयो । लगत्तै नेपाल फर्किए । त्यही बिचमा आमाबुबाले भन्नुभयो, तँ, पाइलट पढेपछि कता–कता जालास् ! तिमी हामीलाई चाहिन्छौ । यो व्यवसायलाई सम्हाल्नुपर्छ, अभिभावको चाहना अनुरुप विष्ट नेपाल फर्केर पर्यटन व्यवसायमा रमाए’, उनले भने ।

    आफ्ना सन्तान चिकित्सक, पाइलट र इञ्जिनिर बनुन् भन्ने अभिभावको पहिलो चाहना हुन्छ । यो पेसा मात्रै नभएर समाजको प्रतिष्ठा पनि बनिरहेको छ । तर, विष्ट परिवारले प्रतिष्ठाभन्दा पनि पुख्र्यौैली पेसालाई प्राथमिकता दिएर छोरालाई नेपालमै व्यवसायमा डोर्याउने निधो गरे । सङ्घर्षले अभिभावको चाहनालाई नकार्न सकेनन्् । पेसा व्यवसायलाई निरन्तरता दिए । सङ्घर्षको सपना पाइलट बन्ने नै थियो । तर परिवार र देशप्रतिको मायाले उनी स्वदेश फर्किए ।


    नामजस्तै सङघर्षको सङ्घर्षले व्यावसायिक सफलता प्राप्त गरेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेबान) का केन्द्रीय अध्यक्ष समेत रहेका विष्टको होटल तथा रेष्टुरेण्ट व्यवसायमा नेतृत्व लोभलाग्दो छ । ‘सङ्घर्षपछिको सफलताले जीवनलाई आनन्दित तुल्याउछ’, उनी भन्छन्, ‘आज म असाध्यै खुसी छु । किनकी नेपालमै बसेर केही भए पनि गर्नसकेको छु, मेरो ठूलो सपना छैन । यही देशमा केही गरु भन्ने हुटहुटी छ ।’

    सङ्घर्ष स्वदेश फर्कनुमा एउटा गज्जबको संयोग छ । उनको परिवार कोटेश्वरमा बस्छ । परिवारका पाँच सन्तान (चार छोरा र एक छोरी) मध्ये सङ्घर्ष साइलो छोरा हुन् । ‘म अमेरिका उडेपछि बुबाआमाले सधैँ चित्त दुःखाएर कोटेश्वरमाथि उड्ने विमानलाई सोध्नुहुन्थ्यो रे ‘तैले मेरो छोरालाई अमेरिका लगिस कहिले फिर्तागर्छस््, उनले भने, ‘त्यतिमात्रै हैन, दक्षिणकाली मातालाई प्रार्थना गरेर मेरो छोरो चाँडो फिर्ता गरिदिनुस् । फर्केपछि कालो बोको चढाउँछु भनेर भाकल गर्नुभएको रहेछ ।’ 

    पछि नेपाल फर्केर दक्षिणकालीमा भाकल पूरा गरेको विष्टले स्मरण गरे । ‘बुबाआमाको चाहना अनुसार पाइलट बन्ने सपना छाडेर यहाँ बसे । मेरो जीवनमा बन्ने इच्छा र सपना नै पाइलट थियो’, विष्टले भने, ‘मेरो सपना  ब्रेकफास्ट नेपालमा, लन्च युरोपमा र डिनर अमेरिकामा गर्ने थियो । तर, बुबाआमाको सपनालाई पहिलो प्राथमिकता थिएर मेरो इच्छालाई त्यत्तिकै थाती राखे ।’

    सपना रोकिएकामा केही समय विष्टमा छटपट्टी हुन्थ्यो । सन् २००३ मा बिबाह गरेको एक महिनामा उनी बुबाआमालाई युरोप घुम्न जान्छु भनेर अमेरिका पुुगे । यसबारे उनले श्रीमतीलाई मात्रै जानकारी दिए । विष्टले अमेरिकामा प्याराग्लाइडिङको तालिम लिए । करिब नौ महिनाको तालिम सकेर उनी पहिलो प्याराग्लाइडिङको पहिलो लाइसेन्स होल्डर पनि बने । अघि  नारायण पराजुली र राजेश बम्जनले प्याराग्लाईडिङको तालिम लिएका थिए तर, लाइसेन्स भने लिएका थिएनन् ।

    विष्ट भन्छन्, ‘केही हदसम्म मेरो पाइलट बन्ने सपना चाहिँ प्याराग्लाइडिङमा रमाएर सीमित राखे । तर, म गौरब गर्छु किन की नेपाल संसारकै सुन्दर देश हो । जातजाती, भाषाभाषी, सगरमाथा र बुद्धजन्भूमिमा बसेर थोरै भएपनि आत्मनिर्भर भएर पर्यटन व्यवसायलाई चलायमान बनाउन पाउँदा ज्यादै खुशी छु र नेपालमा बस्न पाएकोमा गौरब पनि गर्छु ।’

    आफूलाई खुशी राख्न विष्टले निरन्तर मेहेनत र समाजसेवालाई निरन्तरता दिएका छन् । उनी दैनिक १२ देखि १४ घण्टा श्रम गर्छन । विष्टको अनुभवमा जीवनमा प्राप्ति मात्रै हैन त्याग र समर्पणको आनन्द पनि बेल्लै छ । ‘आफ्नै देशमा बसेर केही युवालाई छोटो समय काम सिकाएर सक्षम व्यावसायिक वातावरण बनाउने र नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन केही हदसम्म योगदान पुगेको छ । यसैबाट मलाई आनन्छ आउँछ’, उनले भने ।

    विष्टको सफलतामा जीवनसाथी विश्व कीर्तिमानी नेपाली प्रतिष्ठा अमात्य (विष्ट) को दरिलो साथ छ । प्रतिष्ठा अमात्य सन् २००४ मा स्मरण शक्तिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने पहिलो नेपाली हुन्् । 

    गीत गायन र रचनामा पनि पोख्त उनका विभिन्न एल्वम सार्वजनिक भएका छन् । अहिले उनी पर्यटन क्षेत्रमा सघाइरहेकी छिन् । सफल व्यवसायी विष्ट व्यवसायका अतिरिक्त खेलकुद र समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। विद्यालय तह देखिनै धावक रहेका विष्ट मार्सल आर्टमा ब्लाकबेल्ट हुन् । साइक्लिङ सङ्घको पूर्वअध्यक्ष उनले प्याराग्लाइडिङ र स्वीमिङमा पनि विभिन्न रेकर्ड कायम गरिसकेका छन्।

    संस्कृति प्रवद्र्धनमा ‘नेपाली चुल्हो’

    लाजिम्पाटमा रहेको ‘नेपाली चुल्हो’ लोकप्रिय भोजन गृहको रुपमा स्थापित छ । पारिवारिक वातावरणमा स्तरीय खानाका परिकारको स्वाद चखाइरहेको नेपाली चुल्होले संस्कृति र पर्यटन प्रवद्र्धन गरिरहेको छ । नेपाली चुल्होका प्रबन्ध निर्देशक विष्ट विभिन्न परिकारको स्वाद ग्राहकमाझ पु¥याइरहेको बताउँछन्।

    ‘विभिन्न सांस्कृतिक प्रस्तुतिसहित खानाको साथमा नेपाली पर्यटन प्रवद्र्धन गरिरहेका छाँै’, उनले भने । नेपाली चुल्होमा विभिन्न जातजाति र वेषभूषा झल्कने सांस्कृतिक प्रस्तुतिसहित खानाका परिकार लिन सकिन्छ ।

    यस्तै विष्टकै नेतृत्वमा रहेको ठमेलमा ३० वर्षदेखि स्थापित ‘नर्थफिल्ड क्याफे’मा भारतीय, अमेरिकन, म्याक्सिकन कन्टिनेन्टल खानाको मज्जा लिन पाइन्छ । ठमेलकै ‘लाबेला क्याफे’मा इटालियन कन्टिनेन्टल खाना पाइन्छ ।  नर्थफिल्ड पर्यटकको रोजाइमा पर्छ ।

    पर्यटन व्यवसायी विष्ट सामाजिक कार्यमार्फत धेरैका लागि भरोसा र आशाका केन्द्र पनि बनेका छन्् । उनीमार्फत अवसर पाएका देशका विभिन पेसामा उपलल्लो तहमा कार्यरत छन् । आफूले सहयोग गरेका व्यक्ति उपल्लो पदमा पुग्दा ज्यादै खुसी र आनन्द लाग्ने उनी बताउँछन् । नवौँ राष्ट्रिय खेलमा प्याराग्लाईडिङ प्रशिक्षकको जिम्मेवारी निभाएका विष्ट नेपाल साइक्लिङ एशोसिएशनका पूर्वउपाध्यक्ष हुन् । 

    चर्चित बुद्ध वाज बर्न इन नेपाल अभियानका संयोजक विष्ट टुर दी लुम्बिनीको उपाध्यक्ष र ठमेल पर्यटन विकास परिषदका पूर्वउपाध्यक्ष समेत हुन ।

    रेष्टुरेण्ट र बारमा गएर खाना खाने संस्कृति विकास भएको धेरै समय भएको छैन । विशेषगरी शहरी क्षेत्रमा रेष्टुरेण्ट तथा बारको व्यवसाय बढ्दो छ । रेष्टुरेण्ट तथा बारमा पुग्ने युवा जनशक्ति धेरै छ । बाह्य र अन्तरिक पर्यटकको भरमा रेष्टुरेण्ट एण्ड बार सञ्चालन भएका छन् । विष्टले रेष्टुरेण्ट एण्ड बारको व्यापार विस्तारको बिकल्प नेपालमा अब विदेशी पर्यटक भित्र्याउने र आन्तरिक पर्यटक प्रवद्र्धनको कार्यक्रम सञ्चालन गर्नु रहेको उनी बताउँछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend