नेपालमा बाढी र पहिरोको कारण निर्जीवन बीमा कम्पनीहरूको नाफामा ठूलो असर परेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा बीमा कम्पनीहरूले १ अर्ब ३५ करोड ८४ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जबकि गत वर्षको पुसमा यो नाफा ३ अर्ब ९ करोड ७८ लाख २८ हजार रुपैयाँ थियो। यसले बीमा कम्पनीहरूको नाफामा ५९.३७ प्रतिशतको गिरावट आएको देखाउँछ, जुन १ अर्ब ८३ करोड ९३ लाख ८३ हजार रुपैयाँको कमी हो।
प्राकृतिक विपत्तिको प्रत्यक्ष प्रभाव बीमा कम्पनीहरूको नाफामा परेको छ। बाढी र पहिरोका कारण भएको क्षतिलाई कम्पनीहरूले छिटो दाबी भुक्तानी गरेर पूर्ति गर्दै आएका छन्। यस अवधिमा, सानिमा जीआईसी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्सका नाफामा वृद्धि देखिएको छ। सानिमा जीआईसीले १५.२५ प्रतिशतको वृद्धि देखाउँदै १२ करोड १६ लाख ९८ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १०।५३ प्रतिशतको वृद्धि गर्दै १२ करोड ४९ हजार रुपैयाँ र शिखर इन्स्योरेन्सले २.४८ प्रतिशतको वृद्धि गर्दै २५ करोड ७३ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।
तर, द ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको नाफा भने ऋणात्मक छ। द ओरियन्टल इन्स्योरेन्सको नोक्सानी १९ करोड ७५ लाख ४१ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सको ३६ करोड ९८ लाख ६८ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार, नेपाल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स लगायतका कम्पनीहरूको नाफामा पनि उल्लेखनीय गिरावट आएको छ।
यो गिरावट प्राकृतिक विपत्तिका कारण मात्र नभई अन्य व्यापारिक कारणहरूले पनि प्रभावित भएको बीमा कम्पनीहरूको भनाइ छ।

