काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकै पटक १४ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
केही दिनअघि मात्रै अर्थसचिव, भन्सार तथा राजश्व विभागका महानिर्देशकको सरुवा गरेका उनले बाँकी सहसचिवको पनि जिम्मेवारी हेरफेर गरेका हुन् ।
उनले मन्त्रालयमा कार्यरत सहसचिव मदन दाहाल आन्तरिक राजस्व विभागका महानिर्देशक बनाएका छन् । मन्त्रालयका प्रशासन महाशाखामा रहेका दाहाललाई विभागको जिम्मेवारी दिएको हो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यको संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयमा सरुवा भएपछि दाहाललाई जिम्मेवारी दिएको हो ।
यस्तै, उनले भन्सार विभागको महानिर्देशकमा महेश भट्टराईलाई जिम्मेवारी दिएका छन् । यसअघिका महानिर्देशक हरिशरण पुडासैनीको राष्ट्रिय योजना आयोगमा सरुवा भएपछि भट्टराईलाई महानिर्देशक बनाएको हो । भट्टराई यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख बनिसकेका छन् ।
यस्तै वित्तीय संघीयता समन्वय महाशाखामा रहेका थान प्रसाद पंज्ञानी प्रशासन महाशाखामा आएका छन् । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र तालिम प्रमुख रहेका शोभा कान्त पौडेल आर्थिक नीति विश्लेषण महाशाखा आएका छन् ।
महेश आचार्यलाई तालिम प्रमुखका रुपमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र पठाइएको छ । तिर्थराज चिलुवाललाई आन्तरिक राजस्व विभागमा उपमहानिर्देशकको जिम्मेवारी दिएको छ । सो स्थानका सेवन्तक पोखरेललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनाइएको छ ।
पार्वती अर्याललाई भन्सार परिक्षण प्रशासक भन्सार जाँचपास पछीको परीक्षण कार्यालय प्रमुख बनाएको छ । त्रि.वि.स्थल भन्सार कार्यालय महेश बराललाई मन्त्रालय तानेको छ । यमुना प्रधान सहमहालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय पठाएको छ । गोपी कृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय पठाएको छ । अमृत लम्साल भन्सार विभागका उपमहानिर्देशक बनेका छन् ।
श्याम प्रसाद भण्डारीलाई अर्थ मन्त्रालयको योजना मूल्यांकन महाशाखामा ल्याएको छ । मन्त्रालयले सोमबार मात्रै अर्थ सचिव रामप्रसाद घिमिरेलाई सरुवा गरी घनश्याम उपाध्यायलाई जिम्मेवारी दिएको छ ।

