२०८३, आश्विन २१ गते

images

वैदेशिक व्यापार घाटा बढ्यो: सात महिनामा ८ खर्ब ६१ अर्बको घाटा

वैदेशिक व्यापार घाटा बढ्यो: सात महिनामा ८ खर्ब ६१ अर्बको घाटा

शनिवार, फाल्गुण १० २०८११२:५६
शनिवार, फाल्गुण १० २०८११२:५६
  • images

    काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोड रूपैँयाको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड  रूपैँया घाटा व्यहोरेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोड रूपैँयाको आयात र एक खर्ब २७ अर्ब २० करोड रूपैँयाको निर्यात भएको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कूल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटा छ दशमलव २० प्रतिशतले बढेको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ ।

        सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा  चार खर्ब ९८ अर्ब ३४ करोड  रूपैँया व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट  पाँच खर्ब ९६ अर्ब ३५ करोड रूपैँयाको वस्तु आयात हुँदा ९८ अर्ब ७५ करोड  रूपैँया बराबरको निर्यात भएको छ । त्यस्तै, चीनसँगको व्यापार घाटा  एक खर्ब ९० अर्ब ४४ करोड  रूपैँया बराबर छ । पछिल्लो सात महिना अवधिमा चीनबाट एक खर्ब ९२ अर्ब ४५ करोड रूपैँयाको वस्तु आयात हुँदा दुई अर्ब रूपैँयाको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापारघाटा उच्च छ ।

    नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानस्तानसँग छ । अफगानस्तानसँग सात महिनामा एक करोड २४ लाख रूपैँयाको आयात र ५९ करोड ४५ लाख रूपैँयाको निर्यात भएको छ । डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरुसँग व्यापार नाफा बढी रहेको छ ।

        विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा २९ अर्ब ४५ करोड १६ लाख रूपैँयाको डिजेल,  २४ अर्ब ५८ करोड ३२ लाख रूपैँयाको पेट्रोल र छ अर्ब ६१ करोड ६५ लाख रूपैँयाको एलपि ग्यास आयात भएको छ । त्यस्तै, पाँच अर्ब ५० करोड ९० लाख  रूपैँया बराबरको विद्युतीय सवारीसाधन र  पाँच अर्ब ४३ करोड ४१ लाख रूपैँयाको अन्य सवारीसाधन आयात भएको छ । सात महिनामा  तीन अर्ब ५३ करोड ९७ लाख  रूपैँया बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ ।

    नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भटमास तेल पहिलो स्थानमा छ । माघ मसान्तसम्ममा  ३२ अर्ब ४१ करोड ५७ लाख  रूपैँया बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै,  छ अर्ब ५७ करोड ६७ लाख रूपैँयाको सूर्यमुखी तेल,   पाँच अर्ब ३८ करोड ८० लाख रूपैँयाको अलैँची,  तीन अर्ब ८९ करोड ५२ लाख रूपैँयाको कार्पेट,  तीन अर्ब १० करोड रूपैँयाको धागो र  तीन अर्ब  रूपैँया बराबरको चिया निर्यात भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend