काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको छ । झडपमा प्रारम्भिक विवरणअनुसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाइते भएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । राँके जुलुसलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी माथि नै लाठी र ढुङ्गा प्रहार भएको शर्माले बताए । नो केबलकार समूहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलन पछि शनिवार सदरमुकाम फुङलिङ झरेका थिए । सोहि क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शान्तिपूर्ण र्याली प्रदर्शनमा गर्दै विरेन्द्रचोक पुगी उक्त र्यालीलाई राँके जुलुसमा परिणत गरेका थिए ।
झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका वडा नं. ५ विरेन्द्रचोकका केही घरमा राँके जुलुसका पुल्ठो घरतर्फ फ्याकेका थिए ।

