काठमाडौं । सेयर बजारमा ११.६६ अंकको सुधार आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा रोकिएको थियो। त्यसअघि बुधबार बजार बन्द थियो भने मंगलबार नेप्से १२.६८ अंकले, सोमबार २९.८७ अंकले र आइतबार १९.५६ अंकले बढेको थियो।
अघिल्लो दिनको तुलनामा आइतबार कारोबार रकममा उल्लेख्य सुधार आएको छ। आज नेप्सेमा कुल ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ८ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसअघि, मंगलबार१० अर्ब ४३ करोड, सोमबार ९ अर्ब ८९ करोड र आइतबार ९ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कुमारी सबल योजनाको सेयर मुल्य ९.९४ प्रतिशतले बढेको छ। यस्तै, आज रिलायन्स फाइनान्सको सेयर मूल्य ७.२४ प्रतिशतले घटेको छ।
आइतबार बैंकिङ समूहको सेयर मूल्य ०.०३ प्रतिशत, लगानी समूहको १.३३ प्रतिशत, जीवन बिमा समूहको ०.८६ प्रतिशत र उत्पादन समूहको सेयर मूल्य २.७८ प्रतिशतले बढेको छ।
यस्तै, विकास बैंक समूहको सेयर मूल्य ०.४८ प्रतिशत, फाइनान्स समूहको ०.४५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५० प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य ०.५६ प्रतिशतले घटेको छ।

