काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ मन्दिर ३६ घण्टा खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
कोषले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति तथा उपसमितिहरु गठन गरिएको जनाएको छ ।
प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमिमितका परिषद् सदस्य राजकुकार खत्रीले नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताए ।
फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाईको व्यवस्था समेत गरेको उनको भनाइ छ ।
कोषले मांस, मदिरा, गाँजा, भाङ आदिको भण्डारण तथा बिक्री वितरण तथा ओसारपसार नगर्न तथा नगराउन सचेत गराएको छ ।
यस्तै स्थानीय बासिन्दाहरुले स्थानीय वडा कार्यालयहरुमार्फत जारी गरिएको परिचय पत्र तथा कोषबाट जारी परिचय पासबाट सहजरुमा आवतजावत गर्नसक्ने कोषले जनाएको छ ।
कोषका सुरक्षा व्यवस्था उपसमिति एवं सदस्य सचिव डा. मिलन कुमार थापाका अनुसार महाशिवरात्रिका दिन पशुपतिमा २ सेकेन्डमा १० जनाले दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको बताए । उनका अनुसार मन्दिर बिहान साढे २ बाट खुल्नेछ भने दर्शनार्थीको लागि ३६ घण्टा मन्दिर खुला गरिनेछ ।
त्यस्तै यस वर्ष ५ लाख बढी दर्शनार्थीले मन्दिर दर्शन गर्ने कोषको अनुमान छ । दर्शन गर्नका लागि बाहिर ४ वटा लाइनको व्यवस्था गरिएको छ भने भित्रको लागि पासको व्यवस्था नभएको कोषले जनाइएको छ । यस वर्ष मन्दिर परिसरमा भने फूलको सजावट नहुने भएको छ ।

