२०८३, आश्विन २२ गते

images
  • समाचार
  • महाशिवरात्रिमा पशुपति जादैँ हुनुहुन्छ, यस्तो छ...

महाशिवरात्रिमा पशुपति जादैँ हुनुहुन्छ, यस्तो छ बन्द गरिएका सडक र पार्किङस्थल

महाशिवरात्रिमा पशुपति जादैँ हुनुहुन्छ, यस्तो छ बन्द गरिएका सडक र पार्किङस्थल

बुधवार, फाल्गुण १४ २०८१०७:५८
बुधवार, फाल्गुण १४ २०८१०७:५८
  • images

    काठमाडौँ । आज महाशिवरात्रिको दिन पशुपति दर्शनका लागि जाँदै जानुहुन्छ वा अन्य कुनै कामले त्यो बाटो हुँदै यात्रा गर्नुपर्ने छ भने सवारी रुटबारे थाहा हुनु जरुरी छ ।

    साथै कहाँ सवारी साधन पार्किङ गर्ने भनेर पनि जानकारी राख्नु आवश्यक छ । किनभने अघिल्ला दिनजस्तो आज पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैन ।

    महाशिवरात्रि पर्वको दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भीडभाड व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना लागुु गरेको छ । कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजनका निम्ति ट्राफिक व्यवस्थापनको गरिरहेको हो ।

    दर्शनार्थीका सवारीसाधनको पार्किङ तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुह्वेश्वरीपारि करिडोर सडकमा गर्ने व्यवस्था मिलाइएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरू पार्किङ गराइनेछ ।

    यस्तै, पशुपति विकास कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारीसाधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका साधन पार्किङको व्यवस्था मिलाएको छ ।

    विभिन्न नाका भई भित्रने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था मिलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी विनोद घिमिरेले जानकारी दिए ।

    धेरै टाढाबाट आउने भक्तजनको सुविधाका निम्ति निर्बाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको उक्त कार्यालयले जनाएको छ ।

    दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्र त्यहाँ सवारी आवागमन निषेध गरिनेछ । र, वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्था गरिनेछ । त्यसका निम्ति करिडोर र भित्री सडकमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइने ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए ।

    चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ । तर, भक्तजनको भीडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने स्थितिमा ‘डाइभर्सन’ गरी वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने कार्यालयले जनाएको छ ।

    त्यस दिन अर्थात् फागुन १४ गते तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्वेश्वरीपारि पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भीडभाड धेरै भएको अवस्थामा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर, मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफलचौरबाट जयवागेश्वरीतर्फका रुटमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने जनाइएको छ ।

    सम्भावित सवारीसाधनको चोरी नियन्त्रण र निगरानीका निम्ति सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ ।

    शिवरात्रि अवधिभर भक्तजनको सहज आवागमनका निम्ति प्रहरी नायब उपरीक्षक ९डीएसपी०को कमान्डमा ८९० ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिने कार्यालयले जनाएको छ । आवश्यकताअनुसार थप प्रहरी समेत खटाइनेछ ।

    ‘महाशिवरात्रिको अवधिभर पाशुपत क्षेत्रमा आउने दर्शनार्थी एवं भक्तजनहरूलाई निर्बाध रूपमा दर्शन गर्ने वातावरण सुनिश्चित गर्न र आवागमनलाई प्रभावकारी व्यवस्थापन गर्न हामी पूर्ण रूपमा समर्पित भई खटिनेछौँ,’ ट्राफिक प्रहरीका प्रवक्ता एवं एसपी सञ्जयबहादुर राउतले भने ।

    शिवरात्रिका अवसरमा अरू शिवालयमा हुन सक्ने भीडभाडलाई समेत मध्यनजर गरी ट्राफिक प्रहरी खटाइने प्रवक्ता राउतले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend