काठमाडौं । काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ। सम्मेलनको आयोजना महान्यायाधिवक्ता कार्यालयले गरेको हो र यसमा १३ देशका प्रतिनिधिहरु सहभागि भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले डिजिटल माध्यमबाट हुने सबै प्रकारका अपराधलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताएका छन्। उनले भने, "डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान र न्यायनिरुपणका विषयमा सरकारले गम्भीर अनुसन्धान गर्नुपर्छ। यसले देशको अर्थतन्त्रमा ठूलो असर पुर्याउँछ।"
सपनाप्रधान मल्लले डिजिटल अपराधका मुद्दाहरू हाल अदालतमा बढ्दो क्रममा रहेको उल्लेख गर्दै, यसका लागि विभिन्न सामाजिक सञ्जालहरूलाई स्वदेशी कानुनमा आधारित दर्ता गर्नको आवश्यकता औँल्याइन्। उनले थपिन्, "डिजिटल अपराधले महिलाको करियरलाई मात्र प्रभावित पार्दैन, यो सामाजिक बहिस्करणको रूप बढाएर महिलालाई झन् प्रताडित गर्ने कार्य हो।"
उद्घाटनपछि, सम्मेलनमा डिजिटल अपराधका प्रवृत्ति, अनुसन्धान र न्यायनिरुपणका विषयमा छलफल हुनेछ। महान्यायाधिवक्ता रमेश बडालका अनुसार, सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय अनुभव साझा गर्दै संस्थागत क्षमता सुधार गर्नु हो।
सम्मेलनमा 'डिजिटल युगका अपराधहरू : पूर्वानुमान र त्यसमाथिको सम्बोधन' भन्ने अवधारणामा कार्यपत्रहरू प्रस्तुत गरिनेछ।
प्रविधिमा आधारित अपराधहरू बढिरहेको र यसले समाजमा चुनौती थपेको कुरा महान्यायाधिवक्ता बडालले बताएका छन्। यस सम्मेलनले यौन हिंसा, साइबर अपराध, क्रिप्टोकरेन्सी र डिजिटल आर्थिक अपराध, एआईको प्रयोगबाट हुने अपराधहरूजस्ता विषयमा विशेष ध्यान दिनेछ।
सम्मेलनमा नेपाल, भारत, चीन, श्रीलङ्का, बेलायत लगायतका देशका अनुसन्धानकर्ता, अपराधशास्त्रका विज्ञ, एआई विशेषज्ञ, अभियोजक, कानूनविज्ञ र न्यायाधीशहरू सहभागी छन्।

