काठमाडौं । नवलपरासी पश्चिममा भागी विवाह गरेको विषयलाई लिएर भएको झडपपछि दुवै पक्षबीच सहमति भएसँगै मृतकको परिवारले शव बुझेर अन्त्येष्टि गरिसकेको छ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका ६ जना अझै प्रहरी हिरासतमा छन्। घटनाको विस्तृत छानबिन भइरहेको र निर्दोष प्रमाणित भएमा उनीहरूलाई छाड्ने सहमति भएको छ।
सहमति अनुसार, पीडित परिवारलाई राहत उपलब्ध गराउने, दोषीमाथि कानुनी कारबाही गर्ने र सामाजिक सद्भाव कायम राख्न सबै पक्षले मिलेर काम गर्ने प्रतिबद्धता जनाइएको छ।
स्थानीय प्रशासनले अहिले शान्ति सुरक्षामा विशेष ध्यान दिएको बताएको छ। यस घटनाले सामाजिक तनाव निम्त्याएको भए पनि सहमतिपछि अवस्था सामान्य बन्दै गएको छ।

