काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका ठूला भनिएका दलसँग चुनाव लड्न राजा आउन नपर्ने बताएका छन् । गणतन्त्रवादीहरूसँग चुनाव लड्न आफूहरूनै काफी रहेको उनको भनाइ छ ।
शनिबार वीरगञ्जमा आयोजित सभामा उनले आफूहरूले चुनाव लड्ने राजा ल्याउन नचाहेको बताए । ‘राजसंस्था भोटको राजनीतिभन्दा धेरै माथिको संस्था हो । चुनाव लड्न राजा जानु पर्दैन हामीहरू नै काफी छौँ’, लिङ्देनले भने ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक सक्रियता देखाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल खोलेर चुनावमा आउन चुनौती दिइरहेका छन् ।
त्यसको जवाफ दिँदै लिङ्देनले उनीहरूसँग चुनाव लड्न आफूहरू नै पर्याप्त रहेको बताएका हुन् । ७ फागुनमा प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले आफूलाई साथ दिन नागिरकलाई आह्वान गरेका थिए ।

