काठमाडौँ । पूर्वराजा आज पोखराबाट काठमाडौं आउने अवसर पारेर राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् ।
पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौं आउन लागेका हुन् । यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौंमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।
पूर्वराजाको अपीलले राजवादीहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरू पनि तरंगित हुँदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।
सुरक्षाकर्मीको ‘हाईअलर्ट’
राजावादी दल र समूहहरुले पूर्वराजाको स्वागतमा प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् डीआईजी टेक तामाङ भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाइएको बता ।

