काठमाडौँ । एक वर्षदेखि बीना जानकारी वडाअध्यक्ष अमेरिकामा बसेको भन्दै नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ ।
खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल बीना जानकारी अमेरिका बसेको भन्दै माओवादीको कोशी प्रदेश समितिले अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निलम्बन गर्दै निष्कासन गरेको हो ।
वडाअध्यक्ष्क्ष कटवाल एक वर्षदेखि पार्टी र वडालाई जानकारी नगराई अमेरिकामा बस्दै आएका छन् ।
कट्वाल २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट साकेला ४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष भएपछि पालिका र पार्टीलाईसमेत जानकारी नदिइ अमेरिका गएपछि उनी नफर्किएका हुन् ।
उनलाई पार्टीले निष्कासन गरेको माओवादी केन्द्र खोटाङका अध्यक्ष दिपक पाण्डे(आकाश) ले बताएका छन् । वडाअध्यक्ष नहुँदा कार्यालयबाट हुने जनताका काम प्रभावित भएकाले उनलाई पार्टीबाट निष्कासन गरेको उनको भनाइ छ ।
पार्टीबाट निष्कासनमा परेका वडाअध्यक्षलाई जनप्रतिनिधिबाट निलम्बन गर्न निर्वाचन आयोगलाई समेत पत्र पठाउने अध्यक्ष पाण्डेले बताए ।
माओवादी केन्द्रको प्रदेश कमिटि अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) र सचिव गणेश उप्रेती (शुशील) ले हस्ताक्षर गरेको निलम्बन–पत्रमा अमेरिका बस्ने वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नु परेको उल्लेख गरेका छन् ।

