२०८३, आश्विन २२ गते

images
  • समाचार
  • पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक...

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

मंगलवार, फाल्गुण २७ २०८१०८:१९
मंगलवार, फाल्गुण २७ २०८१०८:१९
  • images

    काठमाडौँ । पोखरा–मुग्लिन सडक आयोजना ९पश्चिम खण्ड०को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ । 

    चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिए। उक्त सडक निर्माणको म्याद विसं २०८२ पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो । 

    पश्चिमतर्फ तनुहँमा दुई किमी सडक मात्र कालोपत्र हुन बाँकी रहेको इञ्जिनियर नेपालले बताए । कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रको काम भइरहेको उनको भनाइ छ । तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । एक वर्षभित्र कामसक्ने लक्ष्य लिइएको इञ्जिनियर नेपालले बताए ।

    चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार एवं स्तरोन्नति गरिरहेको हो । पोखराको चाउथे, अन्तरराष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बूढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको इञ्जिनियर नेपालले जानकारी दिए। 

    पोखरा महानगरपालिका–२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर नेपालले बताए ।

    वियजपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको उहाँको भनाइ छ । पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कूल ८१ किमी दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । 

    कूल ४१ दशमलव ४५ किमीको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणका क्रममा रहेकाले पोखराको यातायात सेवा केही असहज भने बनेको छ । सडक स्तरोन्नति लक्ष्यभन्दा केही ढिलो भइरहेकामा स्थानीयवासीको गुनासो छ । 

    गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिपछि पोखरादेखि देशका विभिन्न ठाउँको यातायात सेवा सहज र छरितो हुनेछ । चार लेनको उक्त सडकले सिङ्गो गण्डकी प्रदेशको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । 

    पोखरा आतजावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छिट्टै अन्त्य हुने इञ्जिनियर नेपालले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend