काठमाडौँ । विभिन्न ४१ वटा व्यापारिक कम्पनीले ९० हजार मेट्रिक टन गहुँ आयातको अनुमति पाएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयातका लागि अनुमति मागेका कम्पनीमध्येबाट उक्त कम्पनीलाई अनुमति दिएको हो ।
उक्त गहुँ आयातका लागि ५९ वटा व्यापारिक कम्पनीको आवेदन दिएका थिए । जसमध्येबाट उक्त कम्पनीलाई छनौट गरिएको विभागले जनाएको छ ।
भारतले नेपाललाई कोटा सुविधा अन्तर्गत उपलब्ध गराएको २०० मेट्रिक टन गहुँमध्ये ९० हजार मेट्रिक टन गहुँ आयात गर्न विभागले उक्त कम्पनी छनोट गरेको हो ।
छनोट पर्नेमा काठमाडौँ कालीमाटीस्थित विशाल ट्रेड लिंक, कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज र गुञ्जेश्वरी ट्रेड लिंक छन् । यस्तै वीरगन्जस्थित जोश नेपाल ट्रेडर्स, कैलालीस्थित मन्सा इन्टरनेसनल र काठमाडौँ डिल्लीबजारको दुर्गा ब्रदर्स कन्सर्न र ज्ञान इन्टरप्राइजेज लगायत कम्पनी विभागले छनोट गरेको हो ।
छनोटमा परेका प्रत्येक कम्पनीले ३ हजार टनका दरले गहुँ आयात गर्न पाउने जनाएको छ । कम्पनीले भारतको नेसनल कोअपरेटिभ एक्स्पोर्ट लिमिटेडबाट कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र आयात गरिसक्नुपर्ने छ ।
अनुमति प्राप्त गरेका कम्पनीले गहुँ आयात गर्न नसक्ने भए अनुमति पाएको मितिले १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्ने जनाएको छ ।

