काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका छन् ।
काठमाडौँको कालीमाटीमा सञ्चालित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न लामिछाने आज पाटन उच्च अदालत जाने भएका हुन् ।
स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएको बयान दिएका छन् ।
स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यो कार्यमा संलग्न भएको आरोपमा मुछिएका लामिछानेलाई अदालतले ६० लाख धरौटीमा रिहा गर्न गत माघ २ गते आदेश दिएको थियो ।
लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारले पनि त्यसविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो ।

