काठमाडौं । अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० ले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्यहरू अघि बढाउन अनुमति दिएको छ। अमेरिकी वैदेशिक सहायता समीक्षा प्रक्रियाका बीचमा आएको यो अनुमतिले नेपालमा एमसीसीसम्बन्धी महत्त्वपूर्ण खरिद प्रक्रिया तथा कार्यालय सञ्चालनलाई सहज बनाउने बताइएको छ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल ९एमसिए नेपाल० का अनुसार, यो अनुमतिले समीक्षाको कुनै निश्चित परिणामलाई संकेत नगर्ने स्पष्ट गरिएको छ। एमसिए नेपालले परियोजनाका कामहरू पुनः सुरु गर्न व्यवस्थापन गरिरहेको बताउँदै पारदर्शिताप्रति आफ्नो प्रतिवद्धता दोहोर्याएको छ।
यसअघि, सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि अमेरिकी सहायता स्थगन गर्ने आदेश दिएका थिए, जसअन्तर्गत एमसीसीसम्बन्धी भुक्तानी रोकिने अर्थ मन्त्रालयलाई जानकारी गराइएको थियो।
एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत नेपालमा ५० करोड डलर अनुदान र नेपाल सरकारको १९७ मिलियन डलरको लगानीमा ३०० किमी विद्युत् प्रसारण लाइन, सबस्टेसन निर्माण तथा ७७ किमी सडक स्तरोन्नति गरिने छ। २०७८ फागुन १५ गते १२ बुँदे व्याख्यासहित संसदबाट पारित भएपछि परियोजना अघि बढेको हो।
एमसिए नेपालले हाल जग्गा अधिग्रहण, बोलपत्र आह्वानलगायतका प्रक्रियाहरू अघि बढाइरहेको जनाएको छ।

