काठमाडौँ । सवैधानिक नियुक्तीको टुङगो लगाउन तीन दलका शीर्ष नेताको बैठक तय भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता तय भएको छ ।
सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्ष दलका तीन शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता हुने तय तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तीन शीर्ष नेताबीच अपराह्न ४ बजे भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुनै बाँकी छ । त्यसका लागि सिफारिस समिति (सर्च कमिटी) समेत गठन हुन सकेको छैन । सिफारिस समितिमा सहमति जुटाउन तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको खरेलले बताएका छन् ।
यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सर्वसम्मतिमा सम्भावित पदाधिकारीको सूची तय गर्न नसकिएको भन्दै जिम्मेवारीबाट हात झिकेको थियो ।
यसअघि शीर्ष तीन नेताबीच चैत ६ गते नै बैठक गर्ने तयारी थियो । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको तराई–मधेस जागरण अभियानका लागि काठमाडौँबाहिर गएपछि भेट हुन सकेन ।

