काठमाडौँ । समाजवादी मोर्चाको प्रदर्शन सुरू भएको छ। काठमाडौंको भृकुटिमण्डपमा समाजवादी मोर्चाले विरोध सभा गर्दैछन्। राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरूप मोर्चाले प्रदर्शनमा उत्रिएको हो।
समाजवादी मोर्चाको जुलुस कोटेश्वर,कुपण्डोल,कालिमाटीलगायतका स्थानबाट निस्केर भृकुटिमण्डप पुगेर सभामा परिणत हुनेछ।
गणतन्त्रवादी र राजतन्त्रवादीले एकैदिन प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमाण्डमा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। तीनकुने(नयाँ बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले नियमित ड्युटीमा खटिनेबाहेक सो संख्यामा प्रहरी परिचालन गर्न लागिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले बताएका छन्। उपत्यका प्रहरी कार्यालयले प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले सुरक्षा कमाण्डको नेतृत्व,तीनकुनेमा बानेश्वर, गौशाला वृत्तका डीएसपी,प्रदर्शनीमार्गमा जनसेवा, दरबारमार्ग र सिंहदरबार वृत्तका डीएसपी खटिने छन्।
अधिकांश स्थानमा ट्राफिक प्रहरीले चेकिङलाई कडा पारेका छन्। आजको प्रदर्शनलाई दुवै पक्षले शक्ति प्रदर्शन गर्ने जनाएका छन्। समाजवादी मोर्चाले एक लाख बढी मानिस उर्ताने जनाएको छ।
चार नेताले सम्बोधन गर्ने
समाजवादी मोर्चाको जनसभामा शीर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् ।
जसअनुसार मोर्चामा आबद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन् ।
जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक कब्जा गरेर सडकमा नै मञ्च बनाएको छ । अपराह्न १२ बजे देखी मोर्चा आबद्ध ४ दलले ७ ठाउँबाट जुलुस निकाल्दै छन् ।

