काठमाडौँ । सरकारले तीनकुनेमा आज राजावादीहरूले प्रदर्शन गरेको उदण्डताको दोषी पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंसहितका व्यक्तिहरूलाई ठहराएको छ ।
गृहमन्त्री रमेश लेखकले प्रदर्शन गर्न निर्देशन दिने पूर्वराजा शाह र अराजकता मच्चाउने विवादास्पद मेडिकल व्यवसायी प्रसाईं नै आजको अराजकताको मुख्य दोषी रहेको बताए ।
प्रसाईंले शुक्रबार शाहलाई भेटेर आन्दोलनको ब्रिफिङ गरेका थिए । उनी घरबाट बाहिर निस्किने बेलामा शाहको फोटो लिएर गाडी अगाडि बढाउँदै भीडलाई उत्तेजित तुल्याएका थिए ।
पूर्वराजा शाहको जयजयकार गरेर प्रसाईंले आन्दोलनलाई थप उत्तेजित बनाएका थिए ।
गृहमन्त्री लेखकले निजी सम्पत्ति तोडफोड गर्ने र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउने र आन्दोलन गर्न निर्देशन दिने नाइकेलाई पनि कारबाही गर्ने बताए ।

