काठमाडौँ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिदा नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलनमार्फत थप ३० अर्ब रुपैयाँ तान्न लागेको छ । आज दिउँसो ३ बजे हुने बोलकबोल प्रक्रियामार्फत केन्द्रीय बैंकले यो तरलता व्यवस्थापनको प्रयास गर्दैछ ।
निक्षेप संकलन उपकरण (डीआरएफ) को प्रयोग गर्दै राष्ट्र बैंकले पछिल्ला केही दिनदेखि नियमित रूपमा प्रणालीबाट तरलता खिच्दै आएको छ । तरलता धेरै हुँदा ब्याजदरहरु अनपेक्षित रूपमा घट्न सक्छ र बैंकिङ प्रणालीमा असन्तुलन आउने खतरा हुने भएकाले राष्ट्र बैंक यस उपायमार्फत नगद व्यवस्थापन गर्न सक्रिय देखिएको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा बाँकी नहुने गरी बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलन प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीअन्तर्गत हुनेछ । यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बहु ब्याजदरमा पनि प्रस्ताव दिन सक्नेछन्, जसअनुसार सर्वोत्तम ब्याजदरका आधारमा राष्ट्र बैंकले निक्षेप संकलन गर्नेछ ।

