काठमाडौं । वैदेशिक रोजगार विभागको नेतृत्वमा फेरबदल गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागका महानिर्देशक सूर्य खत्रीलाई मन्त्रालयमा तानेर सहसचिव जीवलाल भुसाललाई नयाँ जिम्मेवारी सुम्पिएको हो।
गत बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत खत्रीलाई विभागबाट फिर्ता बोलाई मन्त्रालयमा पदस्थापन गरिएको छ। उनको स्थानमा सहसचिव भुसालले वैदेशिक रोजगार विभागको महानिर्देशकको रूपमा कार्यभार सम्हाल्ने भएका हुन्। वैशाख पहिलो सातामा अनिवार्य अवकाश पाउन लागेका खत्रीलाई कार्यकाल समाप्त हुनै लाग्दा मन्त्रालय फिर्ता बोलाइएको हो।
खत्री गत वर्ष भदौमा गृह मन्त्रालयबाट सरुवा भएर श्रम मन्त्रालयमा आएका थिए। सरुवा भएको केही समयमै उनलाई वैदेशिक रोजगार विभागको नेतृत्व दिइएको थियो।

