काठमाडौं । पछिल्लो समय शेयर बजारमा रुचि राख्ने आम लगानीकर्तालाई लक्षित गरी सामाजिक सञ्जालमार्फत अनलाइन ठगीका घटना बढ्दै गएकोप्रति नेपाल प्रहरी अन्तर्गत साइबर ब्यूरोले गम्भीर ध्यानाकर्षण गराएको छ।
साइबर ब्यूरोका अनुसार सेयर मार्केटसम्बन्धी तालिम दिने, सहज लोन उपलब्ध गराउनेजस्ता प्रलोभन देखाउँदै विभिन्न प्रयोगकर्तालाई Phishing लिङ्कमार्फत फाइला डाउनलोड गर्न लगाउने गतिविधि तीव्र रुपमा बढेको छ। यस्तो लिङ्कमा क्लिक गरेपछि प्रयोगकर्ताको मोबाइल, ल्यापटप वा अन्य स्मार्ट उपकरणमा मालवेयर इन्स्टल भई व्यक्तिगत तथा वित्तीय विवरणहरु ह्याक हुने खतरा रहन्छ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार केही प्रयोगकर्ताले बैंकिङ वालेटमा असामान्य गतिविधि देखिएको भन्दै ‘The Alert’ वा ‘AT Alert’ जस्ता शॉर्ट कोडबाट SMS पठाइएको उल्लेख गरेका छन्। ती सन्देशमा खाताको प्रमाणीकरण गर्न लिङ्क क्लिक गर्न भनिँदै खाता सस्पेन्ड गरिने चेतावनी दिइने गरिएको छ, जुन पूर्णतः फर्जी र ठगीको नियतले गरिएको हो।

