काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन नेपाल स्टक एक्चे (नेप्से)ले सकारात्मक सन्देश दिएको छ। ०८१ को अन्तिम कारोबार दिन आइतबार नेप्से सूचक ८.८४ अंकले घटेर २६६१.८६ विन्दुमा बन्द भएको थियो।
नयाँ वर्षको पहिलो कारोबार दिन नेप्से २६.५५ अंकले बढ्दै २६८८.६३ विन्दुमा पुगेको हो। नेप्से बढेसँगै कारोबार रकममा उछाल आएको छ। अघिल्लो कारोबार दिन झण्डै ६ अर्बको सेयर खरिदबिक्री भएको थियो।
आज सूचीकृत अधिकांश कम्पनीको सेयर मूल्य सकारात्मक भएको छ। जसमध्ये पाँच कम्पनीको मूल्यको मूल्य सकारात्मक सर्किट लेभलमा रहेर कारोबार भएका छन्।
वर्षको पहिलो कारोबार दिन सर्किट लाग्ने कम्पनीमा कर्पोरेट विकास बैंक, ग्रिन विकास बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्स्युरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रो लाइफ इन्स्युरेन्स रहेका छन्। योसँगै २१२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३४ कम्पनीको मूल्यमा गिरावट आएको छ।
यस्तै, आज दुई करोड १८ लाख सेयर खरिदबिक्री हुँदा आठ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ।

