काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मको संरक्षणको माग गर्दै राजसंस्था पुनर्स्थापना समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने घोषणा गरेको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिका संयोजक नवराज सुवेदीले आन्दोलनको औपचारिक घोषणा गरेका हुन्।
उनका अनुसार आन्दोलन पूर्णतः शान्तिपूर्ण, भद्र अवज्ञा र सत्याग्रहको स्वरूपमा हुनेछ। सुवेदीले आन्दोलन कुनै राजनीतिक दल वा सरकारको प्रत्यक्ष विरोधमा नभएको स्पष्ट पारेका छन्।
घोषणासभामा 'राष्ट्रिय प्रजातन्त्र पार्टी' (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा तथा पञ्चायतीकालका नेता केशरबहादुर विष्टसहित दर्जनौं नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।
अध्यक्ष कमल थापाले राजावादीहरूबीचको एकता अविच्छेद्य रहेको बताउँदै, 'अब कसैले चाहेर पनि हाम्रो एकता टुटाउन सक्दैन। हामी एकताबद्ध भएर अघि बढ्दैछौं।' उनले आन्दोलनको तयारी व्यापक रुपमा भइरहेको भन्दै लाखौं नागरिकको उपस्थिति हुने दाबी समेत गरे।
त्यसैगरी थापाले गणतन्त्र दिवसको रुपमा मनाइने जेठ १५ गतेलाई 'इतिहासकै कहालीलाग्दो दिनको संज्ञा दिँदै, त्यस दिनबाट नै जनताको आवाज उठाउने उचित समय आएको बताए।
सुवेदीले आन्दोलनको सन्देश गाउँ–टोलसम्म पुर्याउन जिल्ला, पालिका र वडास्तरमा समिति गठन गर्न आग्रह गरेका छन्।

