काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति गर्दै ५०.४५ % खुद नाफा वृद्धि गर्न सफल भएको छ। कम्पनीले यो अवधिमा कुल रु. ४६ करोड ५० लाख नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु. ३० करोड ९१ लाख को तुलनामा एकदमै उत्साहजनक उपलब्धि हो।
उत्पादनमा स्थायित्व, व्यवस्थापनको सशक्त रणनीति, र वित्तीय अनुशासनका कारण कम्पनीले यस्तो प्रभावशाली प्रदर्शन गर्न सकेको विश्लेषण गरिएको छ। विद्युत बिक्रीबाट कम्पनीले ९२ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.०५% ले बढी हो। यस्तै, ८ करोड ५६ लाख रुपैयाँ बराबरको बीमा दाबी प्राप्त गर्नु र ब्याज खर्च घटेर १८ करोड १७ लाख मा झर्नुले कम्पनीलाई थप मजबुत बनाएको छ।
हाल कम्पनीको प्रति शेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५.८७ रुपैयाँ पुगेको छ। ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको ताँदीखोला जलविद्युत् परियोजनाले नियमित उत्पादन गरिरहेकाले आम्दानीमा निरन्तरता रहने अपेक्षा गरिएको छ।

