काठमाडौं । स्वदेशी जलविद्युत् तथा सौर्य ऊर्जामा लगानी गर्दै आएको अपी पावर कम्पनी लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ। कम्पनीले विगत वर्षको तुलनामा नाफा झण्डै आठगुना बढाउँदै ३५ करोड रुपैयाँभन्दा बढी कमाउन सफल भएको छ।
२०७८/७९ को सोही अवधिमा कम्पनीको नाफा ४५ लाख रुपैयाँमा सीमित थियो। उत्पादन विस्तारसँगै कम्पनीको आम्दानी पनि उल्लेखनीय रुपमा बढेको छ। तेस्रो त्रैमासमा कम्पनीको कुल राजस्व १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो त्रैमासको तुलनामा ३९ % बढी हो।
कम्पनीका हाल सञ्चालनमा रहेका ६ वटा आयोजनामध्ये ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना प्रमुख पुँजी स्रोतका रूपमा स्थापित हुँदै गएको देखिएको छ। त्यसैगरी, ८.५ मेगावाटको नौगाड र ८ मेगावाटको अपर नौगाड आयोजनाबाट पनि कम्पनीले व्यावसायिक आम्दानी गरिरहेको छ।
त्रैमासभरि कम्पनीको शेयर सक्रिय रूपमा कारोबार भयो । अधिकतम मूल्य ३१० रुपैयाँसम्म पुगेको थियो भने अन्त्यमा २७३ रुपैयाँमा स्थिर भयो।

