काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार गर्नेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ । अधिवेशनको विवादमा एउटा समूहले दिनदहाडै वेसीसहरबीच बजारमै खुकुरी र हातहतियारले प्रहार गरेर ४ जना घाइते भएका थिए ।
घाइतेका तर्फबाट इन्दु अधिकारीसमेतले जिल्ला प्रहरी कार्यालय लमजुङमा जाहेरी दिए पनि अहिलेसम्म दर्ता भएको छैन । प्रहरीले जाहेरी दर्ता गर्न नमान्दा पीडितहरूमा शंका उब्जिएको छ ।
जाहेरी नलिँदा ज्यानै लिने मनसायले खुकुरी प्रहार गर्नेहरू बेसीसहरबाट भाग्ने र त्यसपछि फरार भए भनेर नसमाउने नियत प्रहरीको भएको पीडितको आशंका छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार, यो घटनामा जाहेरी नलिन भन्दै राजनीतिक तहबाट दबाब आउन थालेको छ ।
पीडितले मध्यनेपाल नगरपालिका–७ का ३८ वर्षीय धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का ४० वर्षीय गणेश गुरुङ, मस्र्याङ्दी गाउँपालिका–५ का ४२ वर्षीय भुपेश गुरुङलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । तर, प्रहरीले भने अहिलेसम्म दर्ता गरेको छैन ।
गृहमन्त्री रमेश लेखकले नै यो घटनामा चासो देखाएकाले पनि दर्ता गर्न ढिलाइ भएको हुनसक्ने एक समूहका नेताहरूको आशंका छ ।
घटनास्थलमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङ र वन मन्त्री भेषबहादुर गुरुङ पक्षधर युवाहरूबीच भनाभन हुँदै झडपमा परिणत भएको बताइएको छ । विवाद चर्किएपछि संस्थापन पक्षले इतर पक्षमाथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट बेसीसहर नगरपालिका–९ का वडाध्यक्ष तथा तरुण दल लमजुङ क्षेत्र नं. २ का सभापति खुसीजंग गुरुङ, कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य सुदीप अधिकारी र तरुण दलका सदस्य धन घले घाइते भएका छन् ।
तीमध्ये सुदीप अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । अधिकारी र गुरुङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ भने बाँकी २ जनाको प्रदेश अस्पताल लमजुङमा भइरहेको छ ।
राजनीतिक अधिवेशन जस्तो लोकतान्त्रिक प्रक्रियामा हिंसात्मक घटना हुनु कांग्रेस नेतृत्व र युवा संगठनको अनुशासनमा गम्भीर प्रश्न खडा भएको विश्लेषकहरू बताउँछन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग उठ्न थालेको छ ।

