काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) ले डिजिटल बैंकिङमा नवप्रवर्तन गर्दै 'क्रस-बैंक टेलर क्यूआर निकासी सेवाू' सुरु गरेको छ। फोनपे नेटवर्कसँगको सहकार्यमा ल्याइएको यो सेवा नेपालमा बैंकिङ अन्तरसञ्चालनशीलता र डिजिटल समावेशीकरणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। यस सेवाले फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंकका ग्राहकहरूलाई आरबीबीका शाखाबाट मोबाइल बैंकिङ एपमार्फत सिधै नगद झिक्न सक्ने सुविधा दिन्छ।
'क्यूआर स्क्यान, नगद झिकिएको,सरल, स्मार्ट, निर्बाधू' भन्ने नारासहित प्रस्तुत गरिएको यो सेवा परम्परागत चेक, भौतिक कार्ड वा एटीएमको आवश्यकता बिना नै डिजिटल माध्यमबाट सहज रूपमा नगद झिक्न सकिने बनाउँछ।
ग्राहकहरूले आरबीबी शाखामा गएर टेलर काउन्टरमा राखिएको क्यूआर कोड स्क्यान गरी, आफ्नो मोबाइल बैंकिङ एपमार्फत रकम प्रविष्ट तथा कारोबार स्वीकृति दिएपछि तुरुन्तै नगद प्राप्त गर्न सक्छन्।
यो सेवा विशेषगरी आफ्नै बैंकको शाखा नजिक नपरेका ग्राहकहरू, दुर्गम स्थानका उपभोक्ता वा एटीएम पहुँच नभएका क्षेत्रका लागि उपयोगी हुने विश्वास बैंकले लिएको छ। यसले डिजिटल बैंकिङको पहुँच विस्तार गर्दै वित्तीय सेवा सबैका लागि सहज र सुलभ बनाउने लक्ष्यलाई समर्थन गर्छ।
आरबीबीले यस्ता नवप्रवर्तनमार्फत आफ्ना सेवाहरूलाई थप ग्राहकमैत्री, प्रभावकारी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएको छ। भविष्यमा पनि डिजिटल बैंकिङलाई समावेशी र पहुँचयोग्य बनाउने दिशामा यस्ता प्रयासलाई निरन्तरता दिइने बताइएको छ।

