काठमाडौँ । आन्तरिक राजस्व विभागले लगातार ६ महिनासम्म मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण अद्यावधिक नगर्ने ९५ हजारभन्दा बढी करदातालाई कारबाही गरेको छ । विभागले २०८२ जेठ ९ मा गरेको निर्णयअनुसार ९५ हजार ३४९ करदाताको भ्याट दर्ता निलम्बन गरिएको हो ।
विभागले मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १७ को उपदफा ८ अनुसार करकट्टी रोक्का राखी दर्ता निलम्बन गरिएको जनाएको छ । दफा १७ को उपदफा ९९ ‘ख’ मा ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको दर्ता निलम्बन गर्न सकिने प्रावधान छ ।
निलम्बनमा परेका करदातासँग कुनै पनि खरिद-बिक्री कारोबार नगर्न विभागले सम्बन्धित सबैमा आग्रह गरेको छ । विवरण अद्यावधिक नगर्ने करदाताको नाम, स्थायी लेखा नम्बर र विवरण विभागको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।
भन्सार विभागलाई ती करदाताको आयात तथा निर्यात कारोबारसमेत रोक्का गर्न पत्राचार गरिएको छ । यसअघि आन्तरिक राजस्व विभागले २०८२ वैशाख ११ मा सूचना जारी गर्दै कर विवरण अद्यावधिक गर्न १५ दिनको समय दिएको थियो । तर, तोकिएको म्यादभित्र विवरण नगरेपछि गरेपछि कडा कदम चालिएको विगभाले जनाएको छ ।
राजस्व प्रशासनलाई पारदर्शी, उत्तरदायी र अनुशासित बनाउने उद्देश्यले विभागले कारबाही थालेको स्पष्ट पारेको छ । विभागले व्यापारी व्यवसायीलाई समयमा कर विवरण बुझाउन आग्रह गर्दै पुनः कारोबार नियमित गर्न कर कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

