काठमाडौँ । सरकारले हरित हाइड्रोजन उत्पादनलाई मुख्य प्राथमिकतामा राखेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा उक्त कुरालाई उच्च प्राथमिकतामा राखिएको हो ।
हरित हाइड्रोजन उत्पादनमा प्रयोग हुने मेशिनरी र उपकरणहरूको आयातमा सबै किसिमका कर र महसुल हटाईएको छ भने हरित हाइड्रोजन उत्पादन गर्ने उद्योगहरूलाई पाँच वर्षसम्म आयकर छुट दिइने व्यवस्था गरिएको बजेट बक्तव्यमा उल्लेख छ ।
हरित हाइड्रोजन प्रवद्र्धनका लागि सरकारले २०८० सालमा नै नीति तयार गरेको थियो जसले दिगो ऊर्जा उत्पादन र जलवायु परिवर्तनसँग जुध्नको लागि नयाँ दिशा प्रदान गरेको थियो । यस नीति अनुरूप विभिन्न प्रोजेक्टहरू अगाडि बढाइँदै छन् ।
यसैक्रममा, कोशी प्रदेशमा हरित हाइड्रोजन मल उत्पादन परियोजनाका लागि सम्झौता पत्र समेत सम्पन्न भई परियोजनाको द्रुत कार्यान्वयनतर्फ पहल थालिएको छ । उक्त परियोजनाले कृषि क्षेत्रलाई स्वच्छ ऊर्जा र जैविक मल प्रदान गरी उत्पादन वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

