काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत प्रहरी नायब महानिरीक्षक ९डिआइजी० हिमालयकुमार श्रेष्ठको सरूवा केही घन्टामै रोकिएको छ।
गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिन गरीरहेको अख्तियारकै डीआइजीको सरुवा भएको भन्दै व्यापक आलोचना भएपछि उनको सरुवा रोकिएको हो ।
नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक ९डीआईजी० पदमा बढुवा भएका प्रहरी अधिकृतहरूको पदस्थापन हुँदा अख्तिायर दुरुपयोग अनुसन्धान आयोगमा पुगेका डीआईजी ओम रानालाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको छ।
अख्तियारमा रहेका डीआईजीलाई त्यही राखिएको छ। उनको सरुवा नभएको प्रहरी प्रवक्ता रमेश थापाले जानकारी दिए। गृह मन्त्रालयले जेठ ६ गते ११ जना वरिष्ठ उपरीक्षक ९एसएसपी० लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। बढुवा भएका डीआईजीहरुले आजै फूली लगाएका छन्।
पदस्थापन सूचीअनुसार ओमबहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा पदस्थापन गरिएको थियो। तर, भिजिट भिसा दुरुपयोगको अनुसन्धान चलिरहेका कारण हिमालय कुमार श्रेष्ठलाई अख्तियारमै राखेर रानालाई उपत्यका प्रहरी कार्यालय पठाइएको हो।
एसएसपी हुँदा अख्तियारमा कार्यरत रहेका थिए।
फेसबुकबाट हटाईयो सरुवाको सूची
नेपाल प्रहरीको फेसबुक पेजबाट पनि डिआइजीको पदस्थापन र डिआइजी श्रेष्ठलाई सरूवा गरिएको सूची हटाइएको छ। बेवसाइटमा भने अझै पनि सूची समावेश छन्। रानाको भने काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ।
यसबारे नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले पनि पुष्टि गरेका छन्।
अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले भिजिट भिसा प्रकरणको अनुसन्धान गरिरहेको छ। अध्यागमन कर्मचारीको सेटिङमा म्यानपावर व्यवसायीसँग मिलेर भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुली गरेको खुलेपछि अख्तियारले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो। अध्यागन प्रमुख रहेका तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा समेत लिएको थियो।
तर उनलाई केही बेरमै अख्तियारले छाडेको थियो। उनको मोबाइल लगायत कागजात भने नियन्त्रणमा लिएर अख्तियारले छानबिन गरिरहेको छ।

