काठमाडौँ । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको बताए ।
सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भने पनि उनलाई भारतीय भूमिबाट पक्राउ गरेको स्रोतको भनाइ छ ।
सीआईबीका अनुसार उनलाई म्याद थपका लागि बाँके लगिँदै छ ।
बाँके घर भएका राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो । रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका थिए ।
रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको बैंकको आन्तरिक छानबिनबाट खुलेको थियो ।
बैक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले कर्णाली विकास बैंकको अन्य बैकमा रहेको खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणालीमा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा करिब १ अर्ब २६ करोड अपचलन भएको पाइएको हो ।
कर्जा दुरूपयोग गरेको भन्दै रायलाई राष्ट बैंकले आर्थिक वर्ष २०८०÷८१ मा ५ लाख जरिवाना समेत गरेको थियो ।
हाल कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूहले सञ्चालन गरेर सुधारात्मक काम गरिररहेको छ ।

