काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको प्रमुख प्रतिपक्ष दलले आज पनि अवरुद्ध गर्ने तयारी गरेको छ । सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजे बोलाएको संसद बैठकअघि विपक्षी दलले छलफलको तयारी गरेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधिसभामा विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोधबारे छलफल बोलाएका हुन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद् भवन नयाँ बानेश्वरमा मध्याह्न १२ बजेका लागि प्रचण्डले विपक्षी दलको बैठक बोलाएको जानकारी दिए ।
संसद्को अवरोध खुलाउने विषयमा प्रचण्ड र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार बूढानीलकण्ठमा छलफल भएको थियो । प्रचण्ड विपक्षी दलसँग थप छलफल गर्ने देउवालाई जवाफ दिएका थिए ।
देउवासँग शनिबार भएको भेटका विषयमा समेत विपक्षी दलहरूलाई प्रचण्डले ब्रिफिङ गर्नेछन् । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
माओवादी केन्द्र र एकीकृत समाजवादी गृहमन्त्रीको राजीनामाको विषयमा लचिलो बनेका छन् भने रास्वपाको पहिलो सर्त नै गृहमन्त्रीको राजीनामा छ ।
विपक्षी दलले भिजिट भिसा सम्बन्धमा २०६४ यताका सबै गृहमन्त्रीमाथि छानबिन गर्नेगरी आयोग बनाउने विकल्प अघि सारेका छन् । सत्तारूढ दलले भने पहिले अख्तियार छानबिन सकिन दिने र त्यसपछि मात्र यस्तो आयोग वा समिति बनाउने विषयमा छलफल गर्ने जवाफ दिएका छन् ।
सत्ता र प्रतिपक्षको यही छिनाझिम्टीले संसद् बन्धक बनिरहेको छ । जेठ १३ देखि निरन्तर संसद् अवरोध गर्दै आएका विपक्षी दलले जेठ १५ मा सरकारलाई बजेट ल्याउन दिएका थिए । त्यसपछि भने बैठक बस्ने वातावरण बनेको छैन ।

