काठमाडौं। नेपालको अग्रणी निजी टेलिकम सेवा प्रदायक एनसेलले आगामी वर्षहरूमा फाइभजी प्रविधि भित्र्याउने स्पष्ट रणनीति सार्वजनिक गरेको छ। कम्पनीले 'बिल्डिङ सस्टेनेबिलिटी : डिजिटल टुमरो ' कार्यक्रममा दीर्घकालीन रोडम्याप प्रस्तुत गर्दै आर्थिक, पूर्वाधार र नीतिगत आवश्यकताहरू पूरा भएपछि मात्रै फाइभजी सम्भव हुने बताएको हो।
कार्यक्रममा एनसेलका प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले टेलिकम क्षेत्रमा नाफा घट्दो अवस्थामा रहेको र अत्यधिक कर तथा स्पेक्ट्रम फीका कारण तत्काल फाइभजी भित्र्याउन चुनौती भए पनि भविष्यप्रति आशावादी रहेको स्पष्ट पारे।
'हामी अहिले घाटामा काम गरिरहेका छौं। तर पनि सरकारसँग सहकार्य गरेर फाइभजी सम्भव बनाउने दिशामा हामी गम्भीर छौं,' कायुमोभले बताए।
कम्पनीले हालकै आम्दानी, कर संरचना र पूर्वाधार अवस्थालाई मध्यनजर गर्दै २०२९ सम्ममा फाइभजी सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। यसका लागि कम्पनीले नयाँ बिजनेस मोडेल, सब्सक्रिप्सन प्रणाली र पूर्वाधार विस्तार गर्ने योजना अघि सारेको छ। कायुमोभका अनुसार काठमाडौं उपत्यकामा मात्र फाइभजी बिछ्याउन ८ अर्ब रुपैयाँ उपकरण र पूर्वाधार, र थप ७.८ अर्ब स्पेक्ट्रम तथा मर्मत लागत लाग्नेछ। यो खर्च धान्नको लागि सरकारले टेलिकम उपकरणमा लाग्ने कर, स्पेक्ट्रम फी र कस्टम ड्युटी घटाउनुपर्ने उनले औंल्याए।
फाइभजीको राष्ट्रिय विस्तारको लागि ४६ अर्ब पूर्वाधार र १८.५ अर्ब स्पेक्ट्रम तथा मर्मत खर्च लाग्ने अनुमान गरिएको छ। यसका लागि निजी र सार्वजनिक क्षेत्रको सहकार्य अपरिहार्य हुने कम्पनीको भनाइ छ। एनसेलले आगामी वर्षभित्र थ्रीजी नेटवर्क बन्द गर्ने, र त्यसपछि दुई वर्षभित्र टूजी सेवा पनि बन्द गर्ने तयारी गरिरहेको छ। हालसम्म १२% थ्रीजी नेटवर्क हटाइसकेको कम्पनीले अब डाटा केन्द्रित सेवातर्फ ध्यान दिने जनाएको छ।
कम्पनीले फाइभजी ह्यान्डसेटको प्रयोग दर क्रमशः बढ्दै गइरहेको तथ्याङ्क पनि सार्वजनिक गर्यो। २०२४ मा १६% ,२०२५ मा २०% र २०३० सम्ममा ५९% पुग्ने अनुमान गरेको छ। एनसेलका प्रबन्ध निर्देशक अनुसार एनसेलले लो सचेत प्याक हटाएर नयाँ सब्सक्रिप्सन मोडेलमा आधारित योजना तीन दिनभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

