काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालको बयान विशेष अदालतमा सुरु भएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा अध्यक्ष नेपालको बयान लिइँदैछ। अदालत स्रोतका अनुसार बयानपछि आजै थुनछेक बहस पनि हुने छ, जसपछि पुर्पक्षका लागि नेपाललाई थुनामा पठाउने वा थुनाबाहिरैबाट मुद्दा लड्न दिने भन्नेबारे अदालतले आदेश जारी गर्नेछ।
कानुनी टोलीसहित अदालत उपस्थित
अध्यक्ष नेपाल बुधबार बिहान ११ बजे आफ्ना कानुनी प्रतिनिधिहरूका साथ विशेष अदालत पुगेका थिए। उनका पक्षबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता शम्भु थापा लगायतले बहस गरिरहेका छन्।
९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पतञ्जली योगपीठलाई लाभ पुग्ने गरी सरकारी जग्गा हिनामिना भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको हो। मुद्दामा अध्यक्ष नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ।
उक्त मुद्दा नेपाल सरकारका तत्कालीन उच्च पदस्थ अधिकारीहरूमार्फत सरकारी प्रक्रियाविपरीत पतञ्जली योगपीठलाई जग्गा उपलब्ध गराइएको आरोपमा दायर गरिएको हो। अख्तियारले यसलाई ‘संविधान र कानुनको गम्भीर उल्लंघन’ भन्दै भ्रष्टाचारको संज्ञा दिएको छ।
राजनीतिक तरंग
पूर्वप्रधानमन्त्रीसमेत रहेका माधव नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि राजनीतिक वृत्तमा व्यापक तरंग उत्पन्न भएको छ। नेकपा एसले यसलाई 'राजनीतिक प्रतिशोध' भन्दै खारेज गर्न माग गर्दै आएको छ।
अब अदालतको आदेशले अध्यक्ष नेपालको मुद्दा थुनामा राखेर अगाडि बढ्ने वा उनी थुनाबाहिरै रही कानुनी प्रक्रिया पूरा गर्न पाउने भन्ने टुंगो लाग्नेछ।

