काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले पार्टीको महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ हुँदैछ। उक्त रिटको सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिएको हो।
डा. ढकालले आफू नै रास्वपाको विधिवत महामन्त्री भएको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भनी परमादेश र उत्प्रेषण आदेश माग गरेका छन्। उनले बुधबार दायर गरेको रिटमा रास्वपाको केन्द्रीय कार्यालय, वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई विपक्षी बनाएका छन्।

