काठमाडौँ ।नेपाल वित्तीय संस्था कर्मचारी संघ ९फियन० ले बैंक तथा वित्तीय संस्थानहरूमा कार्यरत ट्रेड युनियन नेताहरूलाई सामूहिक सौदाबारी सम्बन्धी तालिम दिएको छ।
फियनको आयोजनामा शुक्रबार काठमाडौँमा एकदिने तालिम सञ्चालन गरिएको हो। उक्त तालिममा ७० जनाभन्दा बढी कर्मचारीको सहभागिता रहेको फियनले जनाएको छ।
सौदाबारी सम्बन्धी बिषयमा रीसोर्स पर्सनका रुपमा वरीष्ठ अधिबक्त डा रेशम राज रेग्मी र युएनआइ नेपालका अध्यक्षले रहेका थिए ।
बैंक, बीमा, लघुवित्त, पुँजी बजार तथा अन्य वित्तीय संस्थाहरूमा कार्यरत २० हजारभन्दा बढी कर्मचारीहरूको छाता संगठनका रूपमा रहेको फियनमा हाल ५१ वटा प्रतिष्ठानस्तरका युनियनहरू आवद्ध छन्।
संघले कर्मचारीको पेशागत हक–हितको संरक्षण, वित्तीय क्षेत्रमा पारदर्शिता र सुशासनको प्रवर्द्धन तथा मर्यादित कार्यस्थल निर्माणमार्फत बैंकिङ क्षेत्रको विकास र स्थायित्वका लागि निरन्तर क्रियाशील रहँदै आएको छ।
उक्त तालिमको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल ट्रेड युनियन कांग्रेस तथा फियन सधैं कर्मचारीका हक–हितमा केन्द्रित रहँदै आएको बताए। उनले फियनकै पहलमा अवकाश कोष खारेजीसम्बन्धी निर्णयबारे सरकारले लचिलो दृष्टिकोण अपनाएको उल्लेख गरे।
“आगामी आर्थिक वर्षको बजेटमा हाल सञ्चालनमा रहेको अवकाश कोष खारेज गर्ने निर्णय गरियो। उक्त निर्णय बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको हकविपरीत भएकाले तपाईंहरूले आवाज उठाउनुभयो। तपाईंहरूको माग मैले संसदमा पनि राखेको थिएँ। त्यसपछि अर्थमन्त्रीले छलफल गरेर निर्णय लिने आश्वासन दिनुभयो। पार्टी सभापतिलाई भेटेर तपाईंहरूले कुरा राख्नुभयो। सभापतिले अर्थमन्त्रीलाई भेटेर माग सम्बोधन गर्न आग्रह गरेपछि संसदमै सम्बोधन भयो। यसको श्रेय तपाईंहरूलाई नै जान्छ,” उनले भने।
उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूमाथि कार्यस्थलमै आक्रमण र अपमान हुने घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न राज्य गम्भीर रूपमा लाग्नुपर्ने बताए। “यदि बैंकमाथिको जनविश्वास र सर्वोच्च अदालतमाथिको भरोसा गुम्यो भने राज्य असफल भयो भन्ने प्रमाणित हुन्छ,” उनले थपे।
फियनका उपाध्यक्ष शिवहरि भण्डारीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू चौतर्फी प्रहारमा परेको बताए। सामाजिक सुरक्षा कोष, अदालतको फैसलाहरू तथा आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत कर्मचारीहरूलाई असर पर्ने गरी आएकोप्रति उनले गहिरो चिन्ता व्यक्त गरे।
उनले फियन सधैं कर्मचारीको हक–हितमा क्रियाशील रहेको र भविष्यमा थप नयाँ तालिमहरू सञ्चालन गरिने जानकारी गराए। साथै, कर्मचारीको सुरक्षा सुनिश्चित नभएसम्म कार्यक्षमतामा ह्रास आउनेतर्फ पनि संकेत गरे।
कार्यक्रम फियनका कार्यवाहक अध्यक्ष परशुराम खनालको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त अवसरमा संघीय सांसद प्रतिमा गौतम, ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेत तथा वर्तमान अध्यक्ष योगेन्द्र कुवँर लगायतले आ–आफ्ना धारणा राखेका थिए।

