काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग गरेको सहमतिको आज अन्तिम दिन हो। ऐन जारी गर्न ढिलाइ भएको भन्दै शिक्षकहरू आज बिहानैदेखि सिंहदरबारस्थित शिक्षा समितिको कार्यालय अगाडि धर्नामा बसेका छन्।
सरकारले आजभित्र ऐन ल्याएन भने शिक्षक महासंघले पुनः हड्ताल र कक्षाहरु ठप्प पार्ने चेतावनी दिएको छ। यता शिक्षा मन्त्रालयले भने ऐनको तयारी अन्तिम चरणमा रहेको बताउँदै शिक्षकहरूलाई संयमित रहन आग्रह गरेको छ ।
नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल गरेपछि गत वैशाख १७ गते सरकार र महासंघबीच ऐन असार १५ भित्र जारी गर्ने लिखित सहमति भएको थियो। तर, सहमतिअनुसारको म्यादको अन्तिम दिनसम्म पनि ऐन जारी हुने पक्का नभएसँगै शिक्षकहरू आन्दोलित भएका छन् ।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा दर्जनौं शिक्षक सिंहदरबार पुगेका हुन्। उनीहरूले शिक्षा समितिमा रहेका सांसदहरूसँग भेटघाट गर्दै ऐन तत्काल पारित गर्न दबाब दिएका छन्। महासंघले सरकारसँगको सहमति कार्यान्वयन नभए आन्दोलन चर्काउने चेतावनी पनि दिएको छ।
पराजुलीले भनिन्, “सरकारसँग ऐन ल्याउने सहमति भएको दुई महिनासम्म पनि ठोस प्रगति नभएकोले हामी सिंहदरबारमा आफैं आएर सांसदहरूलाई सम्झाउन बाध्य भयौं।” शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ऐनको मस्यौदामाथि छलफललाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। समितिस्रोतका अनुसार केही विवादित बुँदामा अझै टुंगो लाग्न बाँकी छ, जसका कारण विधेयक संसदमा दर्ता हुन ढिलाइ भइरहेको छ।
समितिको आज बिहानको बैठकमा पनि शिक्षा ऐनको मस्यौदामाथि छलफल भइरहेको छ। समितिका एक सदस्यले नाम नखुलाउने शर्तमा भने, “धेरै बुँदामा सहमति जुटिसकेको छ, केही नीतिगत विषयमा मात्र कुरा मिलाउन बाँकी छ।”

