काठमाडौँ । टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ । सोमबार दिउँसोदेखि एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको हो ।
एनसेलले अपराह्न ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको जनाएको छ । सेवा अवरुद्ध हुँदा एनसेलका उपभोक्ता प्रभावित भएका छन् ।
कम्पनीले सेवा अवरुद्ध हुँदा भएको असुविधाप्रति ग्राहकसँग सामाजिक सञ्जालमार्फत क्षमा मागेको छ । उसले सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकता साथ काम भइरहेको उल्लेख गरेको छ ।
आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ ।
सेवा अवरुद्ध हुँदा एनसेल नम्बरबाट अर्को एनसेल नम्बरमा फोन सम्पर्क हुन सकिरहेको छैन । साथै कम्पनीको मोबाइल एप समेत चल्न सकिरहेको छैन ।
तर एनसेलबाट नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा भने सम्पर्क भइरहेको छ । नेटवर्कको समस्या मधेस प्रदेश बाहेक देशव्यापी रूपमा देखिएको छ । पोखरामा रहेको एनसेलको डेटा सेन्टरलाई जोड्ने अप्टिकल फाइबर काटिएपछि देशव्यापी रूपमा कम्पनीको सेवा प्रभावित भएको एनसेल स्रोतले जनाएको छ ।

