काठमाडौं । गुल्मी जिल्लाको कालिगण्डकी करिडोर सडक फेरि पहिरोले अवरुद्ध भएको छ।
आइतबार बिहान कालिगण्डकी गाउँपालिका वडानम्बर–६ बर्लवा तथा वडानम्बर–१ गरगरे क्षेत्रमा चट्टानसहितको ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार माथिबाट खसेको पहिरोले सडक सम्पूर्ण रूपमा पुरिएकाले सवारी आवागमन ठप्प भएको हो।
यसले यात्रु र स्थानीयवासी प्रभावित भएका छन्। बाटो खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएको छ।
टोलीले सडक खुलाउने कार्यमा पहल थालेको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको एसपी अधिकारीले बताए।

