काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई चिकित्सा विज्ञानको प्राचीनतम उद्गमस्थल भएको दाबी गरेका छन्। त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन समारोहमा सोमबार बोल्दै प्रधानमन्त्री ओलीले भने, “मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो चिकित्सा विज्ञान, शास्त्र र ज्ञानको विश्वमै पुरानो इतिहास यहीँ छ।” उनले नेपालमा ३ हजार वर्षअघि नै सर्जरीको अभ्यास भएको उल्लेख गरे।
उनका अनुसार ऋषि सुश्रुतले चतरामा विश्वामित्रका छोरा भएर सर्जरी सिकेका थिए र साथीको काटिएको औंलो पुनः जोडेर शल्यक्रियाको दृष्टान्त दिएको बताइन्छ। ओलीले भने, “त्यस समय यहाँको जनसंख्या कम भएकाले सुश्रुत पछि वनारस गएर शल्यक्रिया अभ्यास गर्न थाले।”
प्रधानमन्त्री ओलीले चिकित्सा विज्ञानका जनक मानिने हिप्पोक्रेटसभन्दा ६ सय वर्ष अगाडि नै नेपालमा चरक र सुश्रुतजस्ता ऋषिहरूले आयुर्वेद र चिकित्सा ज्ञानको विकास गरिसकेको तर्क गरे। उनले चरक अर्घाखाँचीका भएको र पाणिनी पनि त्यही क्षेत्रका भएको उल्लेख गरे।
ओलीले त्रेतायुगको उदाहरण दिँदै स्वास्थ्य अभ्यासको ऐतिहासिकता पुष्टि गर्न खोजे। “चार हजार वर्षअघि लक्ष्मण बेहोस हुँदा हनुमानले जडिबुटी ल्याएर उपचार गरेका थिए,” उनले भने, “त्यो समयदेखि नै स्वास्थ्य विज्ञानको विकास भएको पाइन्छ।”
उनले हाल नेपालमा धेरै मानिस बिरामी भइरहेका भन्दै रोग नियन्त्रण र रोकथाममा ध्यान दिनुपर्ने बताए। “हाम्रो विज्ञान, ज्ञान र अभ्यास प्राचीन भए पनि आज हामी पछि परिरहेका छौं,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

