२०८३, आश्विन २३ गते

images
  • समाचार
  • अफिम र नक्कली नोट कारोबारमा संलग्न...

अफिम र नक्कली नोट कारोबारमा संलग्न गिरोह सुर्खेत र बाँकेबाट पक्राउ

अफिम र नक्कली नोट कारोबारमा संलग्न गिरोह सुर्खेत र बाँकेबाट पक्राउ

मंगलवार, आषाढ ३१ २०८२०७:१२
मंगलवार, आषाढ ३१ २०८२०७:१२
  • images

    काठमाडौँ । प्रहरीले लागुऔषध अफिमको कारोबार गर्दै आएका एक गिरोहलाई नक्कली नेपाली नोट उत्पादन र वितरणमा समेत संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त कारबाहीमा उक्त गिरोहका पाँच सदस्य नियन्त्रणमा लिइएका हुन्।

    डीएसपी मोहनजंग थापाका अनुसार, पक्राउ परेकाहरूको साथबाट ३० केजी अफिम र १३ लाख रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको छ। जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई मंगलबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–१० शान्तिटोलबाट एक हजार दरका ६ वटा नक्कली नोटसहित पक्राउ गरिएको थियो। सोही दिन साँझ उनको डेराबाट थप १२३६ थान नक्कली नोट (करिब १२ लाख ३६ हजार रुपैयाँ) फेला परेको प्रहरी बताउँछ।

    उनको बयानपछि प्रहरीले कृष्णबहादुर वली (३५) र प्रेमबहादुर बिक (३०) लाई भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलबाट पक्राउ गरेको थियो। उनीहरूको डेराबाट ११ पोका अफिम बरामद भएको छ।

    अनुसन्धानको क्रममा कोहलपुरमा जनगर्जन नेटवर्क प्रालि चलाउँदै आएका कालिकोटका मनबहादुर देउवा पनि संलग्न रहेको पुष्टि भएपछि उनलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। देउवाको घर र कार्यालयमा छापा मार्दा १९.३ केजी अफिम, ५१ थान नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहितका उपकरणसमेत बरामद गरिएको छ।

    पक्राउ परेकाहरूविरुद्ध लागुऔषध, नक्कली मुद्रा उत्पादन र संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend